डेढ दशकदेखि खोज पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार बाबुराम विश्वकर्मा (४३) यतिखेर ‘भूराजनीतिको भार’ किताबका कारण चर्चामा छन्। हालै सार्वजनिक भएको गैरआख्यानात्क किताब भूराजनीतिको भार नेपालमा शक्ति-राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको आलोचनात्मक सोध-खोज हो। आफूलाई स्वन्तन्त्र पत्रकार भन्न रुचाउने विश्वकर्माले तीन वर्षमा तयार पारेको पुस्तक भूराजनीतिको भारमार्फत् नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको बोझ र दबाबलाई प्रगेल्न खोजेका छन्, जसलाई खोज पत्रकारितामार्फत् सम्भव हुन सकेको जिकिर गर्छन् उनी।
पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर विश्वकर्माले हङकङ विश्वविद्यालयबाट सन् २०१० मा खोज पत्रकारिताको विशेष प्रशिक्षण लिएका थिए।
राजनीतिक आयाममाथि खोज पत्रकारिता गर्न जोखिम रहेको बताउने उनी भूराजनीतिको भारको तयारीको बारे भन्छन्, ‘विदेशी सक्रियताको अनुपात र आयाममा कस्ता अन्तर र विविधता छन्। र विदेश मामिलासम्बन्धी पछिल्ला दस्तावेज, सन्धि-सम्झौता, विदेशी कूटनीतिज्ञको चासो र दौड तथा नेपाली नेतृत्वको दोहोरो र असंगत व्यवहार अध्ययन गर्दाको समष्टिगत नतिजाको रूपमा भूराजनीतिको भार तयार भएको हो।’
हाल शोध-खोज पत्रकारिता गुठीमा सम्बद्ध रहेका विश्वकर्मा खोज पत्रकारितामार्फत् समाजमा सार्वजनिक नभएको मुद्दालाई बाहिर खुलासा गर्न सक्नुपर्ने देख्छन्। देशको अन्तर्राष्ट्रिय सम्बन्धमा बढी चासो देखाउँछन्। उनका अनुसार नेपालको संविधान, परराष्ट्र सम्बन्धका स्थापित मूल्य-मान्यता र नेपालले अपनाएको असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपालको विदेश सम्बन्ध केलाउँदा देशको कुटनीतिक सन्तुलन लिक बाहिर बहकिएको देखिन्छ।
शिक्षक मासिकको सहायक सम्पादक, नेपाल राष्ट्रिय साप्ताहिकको वरिष्ठ उपसम्पादक र खोज पत्रकारिताको केन्द्रको सहायक सम्पादकको रूपमा पनि विश्वकर्माले काम गरिसकेका छन्। उनका अनुसारमा राष्ट्रिय घटनाको क्रममा पनि खोज पत्रकारिता गर्न गाह्रो देख्छन्।
खोज पत्रकारिताकै क्रममा भूराजनीतिको भार किताब लेख्न सकेको बताउने विश्वकर्मा भन्छन्, ‘राष्ट्रिय घटनाका क्रममा गंभीर खालको मुद्दामाथि लामो समय लगाएर, त्यसको डेटा र प्रमाणहरू जुटाएर काम गर्नुपर्ने समय आयो। त्यस्तो खुलासा सार्वजनिक वृत्तमा ल्याउन सक्नुपर्छ। त्यही कोसिसको क्रममा भूराजनीतिको भार किताब जन्मिएकाे हाे।’
पछिल्लो कालखण्डमा नेपालसँग भारत, चीन र अमेरिकाले गरेका सन्धि–सम्झौता, लेनदेन, जस्तै अमेरिकाले दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी), चीनले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) र भारतसँगको दरार अझै नसल्टिएको बताउँछन् विश्वकर्मा।
संसारको धेरै सानो देश त होइन नेपाल तर दुई देश (भारत-चीन)भन्दा त सानो हो, जसले परापूर्वकालदेखि भूराजनीतिक दबाब झेल्दै आएको नकार्न सकिँदैन। भूगोलका हिसाबले भारत २२ गुना र चीन ६६ गुना ठूलो छ। आर्थिक, सैन्य सेना, जनसंख्याका हिसाबले पनि ठूला छन्।
दोस्रो शक्ति राष्ट्रका रूपमा उदाएको चीन र पाँचौं शक्ति राष्ट्रको रूपमा देखिएको भारतलाई जब फरक-फरक आँखाले हेरिन थालियो अनि सन्तुलन बिग्रिन थालेको बताउँछन् विश्वकर्मा। उनका अनुसार पछिल्लो दशकमा भारत जसरी नै नेपालमा उत्तरी छिमेकी चीनको प्रभाव र सक्रियता हस्तक्षेपकै तहमा प्रकट भएको छ।
यसलाई राजनीतिक विट हेर्दै आएका पत्रकारले नलेखेको होइनन् तर खोज पत्रकारितामार्फत् गहिराइमा पुगेर प्रभावकारी नतिजा आउने गरी लेख्नु पर्ने समय आएको देख्छन् उनी।
पछिल्लो दशकलाई हेर्दा ठूल्ठूला सहयोगको अपेक्षा चीनसँग जोडिएको देखिन्छ। नेपालसँग बिआरआई सम्झौता भएको ६ वर्ष बढी भयो, जुन कार्यान्वयन हुन सकेको छैन। चीनका राष्ट्र प्रमुख जिनपिङ नेपाल भ्रमणमा आए। २४ वर्षमा संसारको ठूलो राष्ट्रका राष्ट्र प्रमुख नेपाल आउनु, ५६ अर्ब सहयोग दिने कुरा गर्नु तर कार्यान्वयन नहुनु आफैंमा खोजको विषय रहेको बताउँछन् विश्वकर्मा।
१३ अध्यायमा समेटिएको पुस्तक भूराजनीतिको भारमा एमसिसी बिआरआई, एसपिपी, जिएसआई, इन्डो प्यासिफिकललगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित रहेको छ। त्यो गहिराइमा पुगेर प्रमाणसहित बाहिर खुलासा गर्न खोज पत्रकारिताको आवश्यकता देख्छन् उनट्ठ।
सामाजिक मुद्दा र आर्थिक मुद्दा र राज्यका मुद्दाहरू बाहिर खुलास हुने क्रम त छ तर नेता र दलका कारण त्यस्ता धेरै घटनाहरू बाहिरिन पाएको छैन यसलाई पनि खोज पत्रकारितामार्फत् बाहिर ल्याउन सकिने बताउँछन् विश्वकर्मा।
नेता र दलको अयोग्यता
आन्तरिक सम्बन्ध सबल नभएसम्म बाह्य सम्बन्ध सुदृढ हुँदैन। मुलुक सधैं दरिद्र भइराख्ने हो भने विदेशी चलखेल बढ्नसक्ने सम्भावना पनि उत्तिकै हुने नै भो। राजनीतिक विश्लेषकहरूका अनुसार नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभावको असर देखिन्छ। यस कुरामा विश्वकर्मा सहमत छन्।
‘न त नेताहरू सदाबहार भए। न त डिब्लोमेटिक भए। उत्तर र दक्षिणतिर फर्किन बेर नलगाउने। मैले भूराजनीतिको भारमा बिपीको सन्दर्भ पनि जोडेको छु। कम्तीमा उनी कता फर्किँदा के हुन्छ त जान्दथिए तर आजका दल र नेताले कोल्टे फेर्न जानेनन्। खासमा हामीलाई चाहिने त सन्तुलन हो’, उनी भन्छन्, ‘कहिले भारत विरोधी, कहिले चीन विरोधी भइहाल्नु पर्दैन। सबैसँग सन्तुलन कुटनीति अपनाउनु पर्ने थियो। देशको विदेश नीति एउटै हुनु पर्ने थियो।’
राष्ट्रिय विदेश नीति एउटै हुनुपर्थ्यो, दल एक हुनुपर्थ्यो, नेता एक हुनुपर्थ्यो। तर भएन। विश्वकर्मा खोज पत्रकारितामार्फत् यस्तो विरोधाभासपूर्ण समस्यालाई पर्गेल्न खोजेको बताउँछन्।
‘भूराजनीतिक एक्सपोर्टहरूले नेपालसँग विदेशी नीतिलाई तदर्थवादको संज्ञा दिएको छ’, उनले भने।
अन्तर्राष्ट्रिय सम्बन्ध नै फेरबदल हुनेगरी स्टेट लेबलमा पहिलो पटक रणनैतिक साझेदारी गर्यो। नेपालमा प्रशिक्षण आयोजना भयो। त्यस्ता मुद्दाहरूको आधारमा बढी स्टोरीहरू चीनसँग सम्बन्धित हुनुपर्थ्याे। त्यो रिपोर्टिङ नै भएन।
चीनका राष्ट्रपति आउन सक्नु तर भारतको विदेशमन्त्री आउन नसक्नुलाई उनी भन्छन्, ‘भारतको धेरै निर्भरताहरू कम गर्नका लागि उत्तरी छिमेकी चीनसँग इन्गेजमेन्ट भयो। दुर्लभ घटना हो त्यो। अबको २४ वर्षपछि हुन्छ/हुँदैन थाहा छैन। जिओ पोलिटिकलमा ठूलो घटना हो।’
विश्वकर्माका अनुसार नेपालको विदेश नीति कागजमा त एकीकृत नीति छ। संविधानले कोल्टे फर्कन दिँदैन। एउटा देशसँग नजिक तर अर्को देशसँग टाढा बस्न दिँदैन। संविधान र परराष्ट्र नीतिमा पनि छ। अन्तर्राष्ट्रिय नजिरहरू पनि छन्। आफ्नो अनुकूल तथा प्रतिकूल हुने अख्तियार हुने कुरा पनि होइन। उनले केही राम्रा काम पनि भएकाे बताए।
भूगोलले जित्न सकिरहेको तर राजनीतिले हार्नु परेको कारण दलको अयोग्यता मान्छन् विश्वकर्मा। उनी एक सन्दर्भलाई जोड्दै भन्छन्, ‘एक प्रधानमन्त्रीले चीनको बुहानबाट आएको कोभिड-१९ को भाइरस नरम र भारतबाट आएको भाइरस कडा भनेर संसदमा भन्नु लज्जास्पद अभिव्यक्ति हो। यसले विदेश नीतिप्रतिको हेराइ र नेताहरूको योग्यता छर्लङ्ग देख्न सकिन्छ।’
राज्य आर्थिक संकटबाट गुज्रिँदै गएको छ, श्रीलंकाको हाल हुन्छ, भोकमरी लाग्छ भनिरहेका छन् अर्थ जानकारहरू भन्ने प्रश्नमा विश्वकर्मा हाँसेर टारिदिन्छन्। उनी भन्छन्, ‘दश वर्षे जनयुद्ध, महाभूकम्प, महामारीमा त देश फेल भएन भने अब फेलर होला त? नेपाली जनता त अझै स्वाभिमान छन्। सचेत छन्। मेहनती छन्।’
अबको खोज पत्रकारिता
सिन्धुली दुधौली स्थायी घर भएका विश्वकर्मा मुद्दामा रहेर खोज पत्रकारिता गरिनुपर्नेमा जाेड दिन्छन्। नेपालको सन्दर्भमा दश वर्ष अगाडि गरिने खोज पत्रकारिताभन्दा धेरै माथि उठे पनि पर्याप्त नभएको बताउँछन्।
हिजो राज्य सञ्चालनमा बसेका पदाधिकारीमाथि प्रश्न गर्न डराइन्थ्यो। स्राेतले जति सूचना दिन्छ, त्यही आधारमा समाचार सम्प्रेषण गरिन्थ्यो। अहिले यसको क्षेत्र फराकिलो भएको देख्छन् विश्वकर्मा। भन्छन्, ‘खोज पत्रकारिताको दायरा फराकिलो भएको छ। हरेक पत्रकारले खोज पत्रकारिताबाट सोच्नु पर्ने समय आएको छ।’
नेपालको अवस्था खोज पत्रकारिताको खाँचो आम पत्रकारिताको स्तरबाट विकास गर्नु पर्ने देख्छन् उनी। र पनि उनी आजको समय मिडिया र पत्रकार छुट्याउन गाह्रो भएको तीतो यथार्थ सुनाउँछन्।
‘राम्रो पत्रकारिता भइदिएको भए खोज पत्रकारिता नभए पनि हुन्थ्यो। पत्रकारितामै खोज पत्रकारिताको खडेरी परेको छ। राम्रो पत्रकारिता नभएकाले खोज पत्रकारिताको आवश्यकता छ’, विश्वकर्माले भने।
तर पछिल्लो समय मिडिया र पत्रकार पनि एउटै देख्नुको कारण उनी सुनाउँछन्, ‘पत्रकार र मिडियाले नै खोज पत्रकारितालाई बाहिर ल्याउन नसक्नु भनेको शक्ति र सत्ता हातमा लिएर गरिएको संगठित बदमासी हो।’
अहिलेको समयमा खोज पत्रकारिताको खाँचो बढिरहेको बताउने विश्वकर्मा बाहिर आउन नसकेको मुद्दालाई खोज पत्रकारितामार्फत् सार्वजनिक वृत्तमा खुलासा गर्नु पर्नेमा जाेड दिन्छन्।
पछिल्लो दशकयता हेर्ने हो भने सत्ता र शक्तिसँग जोडिएका देशका ठूला भ्रष्टाचारका मुद्दा बाहिरिए। ललिता निवास प्रकरण, नक्कल भुटानी शरणार्थी प्रकरण यी खोज पत्रकारितामार्फत् नै बाहिरिन सकेको दाबी गर्छन् विश्वकर्मा। तर मिडिया गृहले खोज पत्रकारितामार्फत् उठाइरहेको मुद्दा कानुनी कारवाहीकाे तहमा पुग्न फलोअप नगरेको थुप्रै उदाहारण रहेको बताउँछन् उनी।
यस्तो किन हुन्छ त? उनी भन्छन्, ‘यो पनि विरोधाभासपूर्ण छ। खबरीदारी कति हदसम्म गर्ने भन्ने सवाल उठ्ला तर मिडिया होमको दबाबमा पत्रकारले कतिन्जेल काम गर्ने भन्ने प्रश्न पनि आउँछ। तर पत्रकारले आफ्नो स्ट्याण्ड कायम राख्न पछाडि हट्नु हुँदैन भन्ने लाग्छ।’
सत्ता र शक्तिले दिएको सूचनाको आधारमा मात्रै रिपोर्टिङ गरेर आजको पत्रकारिता चल्दैन कि भन्ने पनि लाग्छ विश्वकर्मालाई । स्रोत र सूचनाका आधारमा मात्रै हामीले पाठकलाई ‘कन्भेन्स’ गर्न खोज्नु चुनौती मोल्नु हो। ‘प्रमाण नै खोज्ने हो। र प्रमाणकै आधारमा हामीले समस्या उजागार गर्नु पर्ने देखिन्छ’, उनले भने।
खोज पत्रकारिताको नाममा पीडितको आँसु मात्रै सुनाउन खोज्ने प्रवृत्तिबाट अझै बढी चुनौती देख्छन् विश्वकर्मा। ‘अहिले भइरहेको पत्रकारिताले आँसु बेच्ने काम मात्रै गरिरहेको छ। पीडितको आँसु कहिलेसम्म बेच्ने?’, उनले भने, ‘तर खोज पत्रकारिताले आँसु बेच्ने काम गर्दैन।’
विश्वकर्माका अनुसार खोज पत्रकारिताले त ‘भिलेन’का विरुद्ध वकालत गर्न सकिने सबै कागजत तथा प्रमाण खोज्छ र पीडितलाई न्याय दिलाउन कोसिस गर्दछ। पीडकलाई सजाय दिलाउने छ।
विश्वकर्मा भन्छन्, ‘पीडितको आँसु वितरण गर्ने खोज पत्रकारिता गरिँदैन।पीडितलाई संरक्षण दिनुपर्यो। पीडकलाई सजाय दिनुपर्यो। जो बलियो छ, त्यस्ताको बदमासीलाई खुलासा गर्ने कुरा हो। तर आज भइरहेको खोज पत्रकारितामा पीडकलाई बयान लिनु पर्नेमा पीडितको बयान लिइन्छ। उसको फोटो बेचिन्छ। अब त पीडितको फोटो होइन, पीडकको फोटो छापिनु पर्छ।’
प्रभावकारी खोज पत्रकारिता गर्नका लागि आवश्यक स्रोत र अर्थको अभाव खट्किएको देख्छन् उनी। उनका अनुसार खोज पत्रकारिता गर्न संसारभर सजिलो छैन। धेरैजस्तो पत्रकारलाई गाह्रो छ। क्रमिक विकास संसारमा भएजस्तै नेपालमा पनि भएको छ। तालिमहरू पनि भइरहेका छन्। सिक्ने र सिकाउने काम भइरहेको छ।
दश वर्ष अगाडिभन्दा अहिले खोज पत्रकारिता बढी प्रभावकारी भएको छ। तर पर्याप्त छैन। खुला समाज भएको देशमा खोज पत्रकारिता गर्न सजिलो छ। ‘भारतमै खोज पत्रकारिता गर्न गाह्रो भएको छ। प्रजातन्त्र जहाँ साँघुरो हुन्छ, त्यहाँ गाह्रो हुन्छ’, विश्वकर्माले भने।
उनका अनुसार खोजेका सामाग्रीलाई राम्रो बनाउने काम भइरहेको छ। जुन स्तरबाट आउनु पर्ने हो त्यो आएको छैन। डेटाको रूपमा आएको छैन। यसर्थ कमजोर खोज पत्रकारिता हुनुमा लगानीको अभाव देख्छन् उनी। ‘खोप पत्रकारितामा मिडिया होमले लगानी गर्न अझै गाह्रो मान्छन्’, उनले भने।
पत्रकारिताको सुरुवातीतिर विश्वकर्माले ‘दलित र द्वन्द्व’ नामक किताब पनि लेखे। पछिल्लो समय दलितका मुद्दा खोज पत्रकारितामार्फत् बाहिरिएको बताउँछन् उनी।
दलितमाथिको हिंसा कस्तो छ नेपालमा लेखिएको बताउने उनी मध्यम वर्गभन्दा माथि उठेका दलित नेता तथा सेलिब्रेटी स्तरका व्यक्तित्वले जातकै कारण कस्ता हिंसा खेप्नु परेको छ भन्ने सवाल अहिले खोजिरहेको बताउँछन्।
सार्वजनिक सरोकारका सवालमा निर्भीक कलम चलाउँदै आएका विश्वकर्मा भन्छन्, ‘नागरिक खबरदारी र नेतृत्वको समझदारी हुन सक्थ्यो भने धेरै मुद्दाहरू बाहिर खुलासा गर्न सकिन्छ।’