धनगढी, १२ साउन । धनगढीको नोभा अस्पतालमा एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुढा गरेका छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगर पालिकाकाका १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोपमा आफन्तजनले ढुंगामुढा प्रहार गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेपछि भिड तितर वितर भएको छ ।
जन्डिसको समस्या लिएर साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रवार दिउँसो ३ बजे मृत्यु भएको थियो । शुक्रवार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगन्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तले बताएका छन् । दिउँसो करिब साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । अस्पताल प्रशासनले भने गम्भीर अवस्थामा रहेका बिरामीलाई रेफर गरिएको र लैजाने क्रममा मृत्यु भएको जनाएको छ ।