३० वर्ष शिक्षण सेवामा समर्पित चन्द्रोदय मावि धनगढीकी पूर्व शिक्षिका लक्ष्मी गौतमको निधन

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १३ असार । चन्द्रोदय माध्यमिक विद्यालय, धनगढी-१८ फूलबारीमा करिब ३० वर्षसम्म शिक्षण सेवा गर्नुभएकी पूर्व शिक्षिका लक्ष्मी गौतम को निधन भएको छ । उहाँको निधनले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदाय गहिरो शोकमा डुबेको छ ।

लामो शिक्षण यात्राका क्रममा गौतमले हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यको पाठ सिकाउँदै विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । सरल, मिलनसार र कर्तव्यनिष्ठ स्वभावका कारण उहाँ विद्यार्थी र सहकर्मीहरूमाझ अत्यन्त सम्मानित शिक्षिकाका रूपमा परिचित हुनुहुन्थ्यो ।

पूर्व विद्यार्थी सृजना सापकोटा भन्छिन “स्वर्गीय गौतमलाई सम्झँदै “म्याम केवल एक शिक्षिका मात्र होइन, हाम्रो जीवनको प्रेरणाको स्रोत हुनुहुन्थ्यो । उहाँले सिकाउनुभएको अनुशासन, इमान्दारिता र नैतिक शिक्षाले आज पनि हामीलाई सही मार्गमा अघि बढ्न प्रेरित गरिरहेको छ । उहाँको निधनले हामीले एक असल गुरु गुमाएका छौँ” ।

त्यसैगरी, चन्द्रोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शुभ चन्द्र सुबेदीले भन्नुभयो “गौतम, विद्यालयकी इमान्दार, कर्तव्यनिष्ठ र समर्पित शिक्षिका हुनुहुन्थ्यो । उहाँले करिब ३० वर्षसम्म विद्यालय र विद्यार्थीको हितमा अथक योगदान दिनुभयो । उहाँको निधनले विद्यालयले एक अनुभवी र आदरणीय शिक्षिका गुमाएको छ । उहाँको योगदान सधैँ स्मरणीय रहनेछ ।”

गौतमको निधनपछि धेरै पूर्व विद्यार्थी, सहकर्मी शिक्षक–शिक्षिका, अभिभावक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान,सरल व्यक्तित्व, अनुशासित जीवनशैली र विद्यार्थीप्रतिको समर्पणको स्मरण गर्दै धेरैले उहाँलाई प्रेरणादायी शिक्षिकाका रूपमा सम्झिएका छन् ।

शिक्षा क्षेत्रमा उहाँले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने विश्वास व्यक्त गर्दै विद्यालय परिवार, पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूले स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *