नेपाल सि.एम.ए. संघको कर्णाली प्रदेशस्तरीय संयुक्त भेला तथा अन्तरक्रिया सम्पन्न

Avatar
धनगढी टुडे समाचार डेस्क

सुर्खेत, ३१ साउन । नेपाल सि.एम.ए. संघको कर्णाली प्रदेशस्तरीय संयुक्त भेला तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ। भेलाले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, अधिकार तथा सम्मानको सुनिश्चितताका लागि संगठनलाई थप सुदृढ, एकताबद्ध र संघर्षशील बनाउँदै प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश संयोजक तथा संघका केन्द्रीय उपाध्यक्ष जगत बुढाले स्वागत मन्तव्य राख्दै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अध्यक्ष, प्रतिनिधि तथा पदाधिकारीहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले कर्णालीमा संघको संगठनात्मक विस्तारलाई थप प्रभावकारी बनाउँदै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित र अधिकारका सवालमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्षहरू कपिल खनाल, गोपाल उपाध्याय र काशीराम अर्याल, केन्द्रीय उप–महासचिव ईश्वर चापागाईं (नवीन), केन्द्रीय सदस्य जनकराज पन्त,अरुण कुस्बाह,राम दयाल महतो लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू, नेपाल सि.एम.ए. संघ बाँके र बर्दियाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल सि.एम.ए. संघ रुपन्देहीका जिल्ला अध्यक्ष शशिकान्त उपाध्याय को समेत उपस्थिति रहेको थियो।

भेलाले सि.एम.ए./अ.हे.व. लगायत पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको रक्षा तथा सुनिश्चितताका लागि थप एकताबद्ध र संघर्षशील हुँदै सशक्त रूपमा अघि बढ्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। साथै कर्णाली प्रदेशमा संगठन विस्तारलाई तीव्रता दिन कर्णाली प्रदेशस्तरीय संगठन विस्तार समिति समेत गठन गरिएको छ।

कार्यक्रममा सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूले भोग्दै आएका विभिन्न पेशागत समस्या, चुनौती, अधिकार तथा संगठनात्मक विषयमा धारणा राख्दै आगामी दिनमा संघलाई अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पेशागत हकहितको संरक्षणसँगै संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म विस्तार गर्दै सबै पारामेडिक्स स्वास्थ्यकर्मीलाई संगठित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्षहरू कपिल खनाल, गोपाल उपाध्याय र काशीराम अर्याल ले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको वर्तमान पेशागत अवस्था, अधिकारका सवाल तथा आगामी दिनमा संगठनले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा राख्नुभएको थियो। उहाँहरूले पेशागत अधिकारको संरक्षण र प्राप्तिका लागि संगठनभित्रको एकता, सक्रियता र सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले राखेका विभिन्न जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै केन्द्रीय उपाध्यक्षहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित र अधिकार प्राप्ति तथा संरक्षणका लागि नेपाल सि.एम.ए. संघ जुनसुकै चुनौतीको सामना गर्दै एकढिक्का भएर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो।

संघका केन्द्रीय उप–महासचिव ईश्वर चापागाईं (नवीन) ले संघका पछिल्ला संगठनात्मक गतिविधि, सञ्चालनमा रहेका विभिन्न अभियान, भावी नीति तथा कार्यक्रम र आगामी चुनौतीका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवं संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादले संघलाई थप मजबुत र प्रभावकारी बनाउन प्रत्येक जिल्लाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म व्यवस्थित रूपमा विस्तार गर्दै सबै जिल्ला र सदस्यहरूलाई संगठनको अभियानमा सक्रियतापूर्वक जोडिन आग्रह गर्नुभयो।

अध्यक्ष रामेश्वर प्रसादले संघ आफ्ना सदस्यहरूको पेशागत हक, हित र अधिकार प्राप्ति तथा संरक्षणका लागि सदैव दृढ संकल्पका साथ कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक सदस्यलाई संगठनबाट आवश्यक अभिभावकत्व प्रदान गर्ने दृढता समेत व्यक्त गर्नुभयो। उहाँले पारामेडिक्स स्वास्थ्यकर्मीमाथि आइपर्ने पेशागत चुनौती र समस्याको समाधानका लागि संघ सधैँ सदस्यहरूको साथमा रहने स्पष्ट पार्नुभयो।कार्यक्रमको सञ्चालन संघका केन्द्रीय सदस्य जनकराज पन्तले गर्नुभएको थियो।

भेलाले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, सम्मान र अधिकारको सुनिश्चितताका लागि संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म थप विस्तार र सुदृढ गर्दै एकताबद्ध, अनुशासित, संघर्षशील र सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा संगठनात्मक अभियानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ !

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *