धनगढी, २९ साउन । पारामेडिक्स स्वास्थ्यकर्मी सि.एम.ए./अ.हे.व.हरूको साझा संगठन नेपाल सि.एम.ए. संघले सुदूरपश्चिमस्तरीय संयुक्त भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघका अनुसार यही श्रावण ३१ गते आइतबार दिउँसो १ बजे संघको केन्द्रीय कार्यालयको सभाहलमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका संघका जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्य, संघको केन्द्रीय संरक्षण समितिका पदाधिकारी तथा सदस्य तथा संस्थापक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने संघका केन्द्रीय उप-महासचिव ईश्वर चापागाईं (नवीन)ले जानकारी दिनुभयो।
पछिल्लो समय राज्यबाट पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारलाई संकुचित गर्ने प्रयास भइरहेको भन्दै संघले पेशागत अधिकारको सुनिश्चितताका लागि राज्यलाई दबाब दिनुका साथै संगठनलाई थप सुदृढ, एकताबद्ध र विस्तार गर्ने अभियान अघि बढाएको छ ।
यसै अभियानअन्तर्गत संघले देशका सातवटै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । हालसम्म पाँच प्रदेशमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको र कर्णाली प्रदेशस्तरीय भेला श्रावण ३० गते सुर्खेतमा आयोजना हुने चापागाईंले बताउनुभयो ।
उहाँका अनुसार श्रावण ३१ गते सुदूरपश्चिमस्तरीय संयुक्त भेला सम्पन्न भएसँगै सातवटै प्रदेशमा सञ्चालन गरिएको प्रदेशस्तरीय संयुक्त भेला अभियानसमेत सम्पन्न हुनेछ ।
भेलाले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षणसँगै संगठनको एकता, सुदृढीकरण र विस्तारका विषयमा महत्वपूर्ण छलफल तथा आवश्यक रणनीति तय गर्ने अपेक्षा राखेको उप-महासचिव चापागाईंले बताउनु भयो ।

प्रतिक्रिया
FaceBook Comment Plugins