धनगढी, ११ भदौ । कैलाली घर भएका एक शिक्षकको प्युठानमा शव फेला परेको छ । आज (मंगलबार) ऐरावती गाउँपालिका–६, स्थित जनता माध्यमिक विद्यालय, बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका हुन् ।
विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो ।
मृतक शिक्षकको घर कैलाली टीकापुर रहेको जनाइएको छ । विद्यालयमै बस्दै आएका शिक्षक पालिकामा तालिमबाट फर्किने क्रममा घटना भएको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको सूचना अधिकारी केसीले बताउनुभयो । घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।