टि-२० विश्वकप एसिया छनोटमा आज नेपाल र ओमान भिड्दै

धनगढी टुडे समाचार डेस्क

१६ कात्तिक, काठमाडौं : आईसीसी टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेलमा ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

advertisement

नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

advertisement

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।

यस्तै समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो १:१५ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन रहेको छ।

समूह चरणमा दुवै खेलमा सहज जित निकालेको नेपालको लागि सेमिफाइनल अघि ओमानविरुद्धको खेलमा असली परीक्षण हुन सक्छ । किनभने नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा खेल्न सकेनन् । उनले छनोटमा अब खेल्ने सम्भावना कम छ । त्यसैले अनुभवी टिमविरुद्ध हुने महत्वपूर्ण खेलमा दीपेन्द्रको स्थान कसले लिन्छ भन्ने चासोका साथ हेरिएको छ ।

सेमिफाइनल विजेता दुई टोलीमात्रै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

यस पटक लयमा रहेको नेपाल घरेलु मैदानमा हजारौं समर्थकअघि खेल्दैछ र र १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउने एक मात्र लक्ष्य छ । २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपाल पछिल्लो तीन संस्करणमा छनोट हुन सकेको छैन ।