कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको साइकल लेनको उद्घाटन गरिएको छ ।
आज शनिबार धनगढी उपमहानगरपालिकाले कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा निर्माण गरिएको साइकल लेनको औपचारिक रुपमा उद्घाटन गरेको हो । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले धनगढीको ट्राफिक चौराहामा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गरेकी हुन् ।
नगर प्रमुख हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गर्दै साइकल यात्रामा सहभागी भएका थिए । नगर प्रमुख हमाल सहितका साइकल यात्रीहरूले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल यात्रा गरेका थिए ।
धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दाँया र सात दशमलव १४ किलोमिटर बाँया सडकको दुबैतिर साइकल लेन निर्माण गरिएको छ।
उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँके सँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।