सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव फूलवारी तथा प्रादेशिक खुल्ला देउडा प्रतियोगिता २०८० को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
आज शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित एभरेष्ट क्याफेमा आयोजक सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलबारीले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
सुदूरपश्चिम प्रादेशिक महोत्सव फूलवारी तथा खुल्ला देउडा प्रतियोगिताको आय र व्यय सार्वजनिक गर्दै सुनुवाइ सम्पन्न गरिएको हो । संस्थाले पहिलो पटक फूलबारीमा आयोजना गरेको भुवा पर्व बिशेष महोत्सव तथा देउडा प्रतियोगितामा भएको आम्दानी, खर्च तथा बचत बारे संस्थाका पदाधिकारी,चन्दा दाता,जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलबारीका सचिब जयकृष्ण जोशीले महोत्सव तथा देउडा प्रतियोगिता सम्पन्न गर्न ४ लाख ९१ हजार ४ सय ५० रुपियाँ खर्च भएको जानकारी दिए ।कलाकारलाई पुरस्कार, खाना, बस्न, यातायात, डिजेल, पेट्रोल,स्टेशनरी,प्रचारप्रसार,सञ्चार,सामाग्री लगायत विभिन्न शिर्षकमा सो रकम खर्च भएको जोशीले बताए ।
प्रतियोगिता संचालनका लागि विभिन्न व्यक्ति,संस्था तथा सरकारी निकायबाट ६ लाख,३ हजार ७ सय ४० रुपियाँ संकलन भएको जोशीले जानकारी दिए । प्रतियोगितामा चन्दा स्वरुप २ लाख २६ हजार ८ सय ७० रुपियाँ, धनगढी वडा नम्बर १४,१८ र १९ बाट प्रति वडा ४० हजार गरि १ लाख २० हजार,धनगढी उपमहानगरपालिकाबाट २५ हजार,प्रदेश पर्यटन विकास कार्यक्रमबाट ६० हजार ,प्रज्ञा प्रतिष्ठानबाट १ लाख सहयोग प्राप्त भएको जोशीले जानकारी दिए ।
महोत्सव संचालनको सम्पुर्ण खर्च कटाएर संस्थालाई १ लाख १२ हजार २ सय ९० रुपियाँ बचत भएको सचिब जोशीले जानकारी दिए ।