राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।
यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय एनजी आएमा पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।