यू-१९ विश्वकप: नेपाल न्युजिल्यान्डसँग पहिलोपल्ट पराजित

धनगढी टुडे समाचार डेस्क

आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पहिलोपल्ट पराजित भएको छ ।

advertisement

दक्षिण अफ्रीकाको इस्ट लन्डनस्थित मैदानमा नेपालले ६४ रनको हार बेहोरेको हो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो ।

advertisement

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । कप्तान देव खनालले ३६ रन जोड्दा तल्लोक्रमका सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे ।

नेपालको इनिङलाई अघि बढाउन एक्लो योद्धाको रुपमा खेलेका अर्जुन नर्भस नाइन्टिजको शिकार भए । उनी एवाल्ड श्र्वेडरको बलमा टप एज लाग्दै थर्ड म्यानमा क्याच आउट भए । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे ।


इनिङको क्रममा तीन पटक जीवनदान पाएका उनले आफ्नो शैलीअनुसार ब्याटिङ गर्दै इनिङ बढाएका थिए । ७३ बलमा ६ चौकासहित अर्धशतक पूरा गरेका उनले त्यसपछि भने खेलको आवश्यकता अनुसार आफ्नो रन गति बढाएका थिए । तर आक्रामक सट खेल्ने धुनमा उनी ३८ औं ओभरमा आउट भए ।

नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे ।


१६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को ओभरमा उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रन जोड्दै लामो सट प्रहार गर्ने धुनमा क्याच आउट भए । दिपक बोहोरा पनि २९ औं ओभरमा १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए । दिपेश कँडेलले खाता खोल्न सकेनन् ।

तल्लोक्रममा सुभाषले ५२ बलमा ४ चौकासहित नटआउट ३३ रन जोडे । आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । तिलकले १९ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए । अन्तिम विकेटका लागि सुभाष र तिलकले नटआउट ३७ रन जोडेका थिए ।

न्युजिल्यान्डका मेसन क्लार्कले ३ विकेट लिए । एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले २-२ विकेट लिँदा म्याट रो र ज्याक कमिंगले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो ।