नेपाली नागरिकहरुले पनि भारतीय सिमकार्ड प्रयोग गर्न पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् ।
भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।
यसअघि भारत पुगेका नेपाली नागरिकहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
भारतमा चिनजान नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले भारतीय सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको थियो । यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ’ डा. शर्माले बताएका छन् ।
भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ । सो सिमकार्डको वैधता एक महिनादेखि तीन महिनासम्म मात्र हुनेछ भने ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने जनाइएको छ ।