आज महाशिवरात्री पर्व देशभर मनाइदै

धनगढी टुडे समाचार डेस्क

आज महाशिवरात्री पर्व देशभर मनाइदै छ । यस पर्व
लाई प्रत्येक वर्ष फागुन कृष्णचतुर्दशीको दिन हिन्दुहरुले मनाउने रमाइलो पर्वको रुपमा लिइन्छ ।

advertisement

धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ ।

advertisement

शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफनो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ ।

शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्, जुन सबै शिव लिंगमा चढाइन्छ । त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, घ्यू तथा महले भगवान शिवलाई स्नान गराइन्छ ।

महाशिवरात्रीको दिन परम्परा अनुसार सबै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्यको पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ ।

१) भगवान शिवको लिंगमा शुद्ध जल, दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।

२) भगवान शिवपार्वतीलाई सिन्दूर टीका चढाउनु भनेको सद्गुण बृद्धि गर्नु हो ।

३) विभिन्न प्रकारका फलफूल चढाउनु भनेको दीर्घ आयु तथा आफ्ना इच्छा पूरा गर्नु हो ।

४) धूप बाल्नु भनेको सम्पति बृद्धि हुनु हो ।

५) दीप बाल्नाले ज्ञानको वृद्धि हुन्छ ।

६) बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त गर्नु हुन्छ ।

शिवरात्रीको पूजा फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।