गुजरात टाइटन्सद्वारा मुम्बई इन्डियन्स पराजित

धनगढी टुडे समाचार डेस्क

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो।

advertisement

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो।

मुम्बईलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो। उमेश यादवले पहिलो बलमा हार्दिक पाण्ड्यालाई ६ रन दिए। दोस्रो बलमा हार्दिकले पुन: चौका प्रहार गर्दै मुम्बईलाई खेलमा फर्काइसकेका थिए।

advertisement

तर, तेस्रो बललाई पुल गर्नेक्रममा हार्दिक लङ अनमा रहेका राहुल तेवाटियाबाट क्याच आउट भए। उनले ४ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाए।

लगत्तै कृजमा आएका पियुष चावला पनि बललाई पुल गर्नेक्रममा डीप मिड विकेटमा राशिद खानबाट क्याच आउट भए। उमेशले दुवै ब्याटरलाई शट बल फ्याँकेका थिए।

अन्तिम दुई बलमा मुम्बईलाई जितका लागि ९ रन चाहिएको थियो। तर, उमेशले जसप्रीत बुमराह र शम्स मुलानीलाई १/१ रनमात्रै दिएर गुजरातलाई ६ रनको जित दिलाए।

मुम्बईले पहिलो विकेट १ रन बनाउँदा नै गुमाएको थियो। उसका ओपनर इशान किशन ४ बल खेल्दै डकआउट भए। उनी अजमतउल्लाह ओमरजाईको बललाई अफ साइडमा खेल्ने क्रममा विकेटकिपर ऋद्धिमन साहाबाट क्याच आउट भए।

नमन धीर १० बलमा २० रन बनाएर आएट भए। उनलाई ओमरजाईले एलबीडब्यू आउट गरे। १३औँ ओभरको पहिलो बलमा रोहित शर्मा साई किशोरको बलमा एलबीडब्यू आउट भए। उनले २९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन जोडे।

१६औँ ओभरको पाँचौँ बलमा कृजमा जमेर खेलिरहेका डेवाल्ड ब्रेविस पनि मोहित शर्माबाट कट एन्ड बोल्ड हुँदै ४६ रनमा पेभिलियन फर्किएपछि मुम्बई दबाबमा परेको थियो।

त्यसपछि कृजमा आएका टिम डेविड ११, जेराल्ड कट्जी १, शम्स मुलानी १ र जसप्रीत बुमराहले १ रन बनाउँदा पियुष चावलाले खाता खोल्न सकेनन्।

गुजरातका अजमतउल्लाह ओमरजाई, उमेश यादव, स्पेसर जोनसन र मोहित शर्माले २/२ विकेट लिए। साई किशोरको नाममा १ विकेट रह्यो।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ४५ रन प्रहार गरे। ३९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। राहुल तेवतियाले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाउँदा राशिद खान ४ र विजय शंकर ६ रनमा अविजित रहे।

गुजरातले पहिलो विकेट ३१ रन बनाउँदा नै गुमाएको थियो। ओपनर ऋद्धिमान साहालाई जसप्रीत बुमराहले योर्कर बलमा १९ रनमै बोल्ड गरे।

स्कोर बोर्डमा ६४ रन हुँदा गुजरातले कप्तान शुभमन गिललाई पनि गुमायो। आठौँ ओभरको चौथो बलमा उनी लङ अनमा रोहित शर्माबाट क्याच आउट भए।

पियुष चावलाको बलमा आउट हुनुअघि उनले २२ बलमा ३ चौका र १ छक्कासहित ३१ रन प्रहार गरेका थिए।

चौथो कृजमा आएका अजमतउल्लाह ओमरजाई र सुदर्शनले २६ बलमा ४० रनको साझेदारी गर्दै गुजरातको इनिङ्स उकासेका थिए।

यद्यपि, १२औँ ओभरको अन्तिम बलमा ओमरजाई जेराल्ड कट्जीको बलमा डीप स्क्वायर लेगमा तिलक बर्माबाट क्याच आउट भए। उनले ११ बलमा १७ रन बनाए।

डेविड मिलर १७औँ ओभरको तेस्रो बलमा लङ अफमा हार्दिक पाण्ड्याबाट क्याच आउट भए। उनले ११ बलमा १२ रन प्रहार गरे।

सोही ओभरको तेस्रो बलमा अर्धशतक नजिक पुगेका सुदर्शन डीप स्क्वयर लेगमा तिलकलाई नै क्याच दिए। मिलर र सुदर्शनको विकेट बुमराहले लिएका हुन्।

राहुल २०औँ ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा नमन धिरबाट २२ रनमा क्याच आउट भए।

मुम्बईका जुसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १४ रनमात्रै खर्चिए। जेराल्ड कट्जीले २ विकेट लिँदा पियुष चावलाको नाममा १ विकेट रह्यो।