धनगढी, २१ चैत्र । राइड सेयरिङ व्यवसाय कम्पनी पठाओले कैलालीको धनगढी सहरमा पनि ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।
मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार धनगढीमा पनि सेवा विस्तार गरिने पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले बताए । राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब धनगढीसम्मै पुग्ने भएको हो । नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । यसका लागि बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।
राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन कम्पनीले आह्वान समेत गरेको छ । कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम दिइनेछ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचारका लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ।
(दिनेश खबर)