धनगढी, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएको छ ।
केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।