सुदूरपश्चिममा सिस्नाे खेलेर बिसु पर्व मनाइँदै

धनगढी टुडे समाचार डेस्क

धनगढी, १ बैशाख । सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व सिस्नाे खेलेर मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन (वैशाख १ गते) लाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्परा रहेको छ । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ ।

advertisement

बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र शरीरमा सिस्नो लगाउने प्रचलन रहेकाे छ । आजकाे दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ ।

वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन् ।

advertisement

बैशाख १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै विष लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बाचिन्छ भन्ने धार्मिक विश्वास छ ।

तस्बिर स्राेत : गाेरखापत्र