मुम्बईलाई पराजित गर्दै कोलकाता प्लेअफमा

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ, ३० बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ । शनिबार राति भएको खेलमा कोलाकाता १८ रनले विजयी भएको हो ।

advertisement

जितसँगै १२ खेल खेलेको कोलकाताले १८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको कोलकाताले दुई खेल खेल्न बाँकी रहेको छ । पराजित मुम्बईको भने यो नवौँ हार हो। नवौँ स्थानमा रहेको मुम्बईको १३ खेलबाट ८ अंक रहेको छ ।

मुम्बई भने यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

advertisement

वर्षाका कारण खेल १६ ओभर सम्ममात्र खेलाइएको थियो । कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका ओपनर इशान किशनले सर्वाधिक ४० रन बनाए। २२ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

तिलक वर्मा ३२, रोहित शर्मा १९ र नमन धीर १७ रनमा आउट हुँदा अंशुल कन्बोज २ र पीयुष चावला १ रनमा अविजित रहे ।

कोलकाताका आन्द्रे रसेल, वरुण चक्रवर्ती र हर्षित राणाले २/२ विकेट लिए भने सुनील नारायणले १ विकेट लिए ।