धनगढी, १५ जेठ । कञ्चनपुरको पुनर्वासमा मंगलबार टेक्टरमै अवैध काठ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले टेक्टर सहित काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बिओपी डोकेबजारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरचन्द्र भट्ट नेतृत्वको टोलीले ठुलो परिमाणको काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले अवैध रुपमा टेक्टरमा ढुवानी गरिरहेको अवस्थामा बरामद गरिएको बताउनुभयो । उहाँको अनुसार पुनर्वास नगरपालिका ११ अमरबस्ती क्षेत्रमा से १ त ३८७३ नम्बरको टेक्टर लिएर आउदै गरेको १२ थान सालका गोलीया बरामद गरिएको छ । झण्डै १ सय ४० क्युफिट काठ बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको काठ सहित टेक्टर कुण्डा सव डिभिजन वन कार्यालय पचकडीयामा बुझाईएको सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो ।सशस्त्र प्रहरीले बरामद गरेको काठ र टेक्टरको विषयमा कुण्डा सव डिभिजन वन कार्यालयले अनुसन्धान गर्ने जनाएको छ । कुण्डा सव डिभिजन वन कार्यालय पचकडीयाका इन्चार्ज दिनेश कुमार यादवले टेक्टर कसको नाममा रहेको पहिचान गरेर अघि बढ्ने बताउनुभयो । घटनाको प्रकृति हेर्दा उक्त काठ भारतबाट आएको हुनसक्ने आकलन गरीएको छ । काठ तस्करीमा संलग्न समुहको पहिचान गरेर कारबाही गरिने समेत उहाँले बताउनुभयो ।