काठमाडौं, ३ साउन । भुटानको थिम्पुमा बिहीबारदेखि सुरु आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीहरुमा सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला–२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहेका छन् ।
एलिसाले सेमिफाइनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए । त्यसैगरी सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए ।
जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित भए र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंकासँग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाईन ।
सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराँते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए ।