काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्याप्टेन (पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो । जिवितै उद्धार भएका थप एकजनाको पनि मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दीपक थापाले जानकारी दिए ।
“१७ जनाको घटनास्थलबाटै शव उठाइएको थियो । पाइलटबाहेक एकजना जिवित हुनुहुन्थयो,” उनले भने,‘उहाँलाई पनि बचाउन सकिएन् ।’
आफू उद्धारकार्यमै रहेकाले परिचय भने प्रस्ट नभएको उनले बताए । मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी र इन्जिनियर रहेका छन् । उनीहरूमध्ये एक महिला, एक बालक र बाँकी सबै पुरुष हुन् ।
यस्तै एकजना विदेशी नागरिक र बाँकी सबै नेपाली पनि रहेको सौर्य एयरलाइन्सले जनाएको छ । मृतकहरूको पोष्टमार्टम र सनाखतका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको छ ।