धनगढी,१६ भदौ । कैलालीको धनगढीबाट प्रसारणमा रहेको दिनेश एफएममा कार्यरत कैलाश थापाको सवारी दुर्घटनामा निधन भएको छ । एफएमको बजार व्यवस्थापन शाखामा कार्यरत थापाको शनिवार राति सवारी दुर्घटनामा निधन भएको हो । उनी २ वर्षदेखि एफएमको बजार व्यवस्थापन शाखामा काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति १ बजेर १० मिनेटमा गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक उनी सवार से ५ प ५८२७ नम्बरको मोटरसाइकल रोकिएको ट्रकमा ठोकिएको हो । धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय थापाले चलाएको मोटरसाइकल बझाङको बिच्थडचिर गाउँपालिका–२ का २४ वर्षीय भरत बोहराले चलाउने ना ४ ख ९६३ नम्बरको रोकिएको ट्रकमा ठोकिएको प्रहरीले बताएको छ । उनीहरु धनगढीबाट अत्तरियातिर जाँदै थिए । प्रहरीले सेती प्रादेशिक अस्पतालमा पुर्याएका थापाको २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको पछाडी सवार धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २५ वर्षीय भुपेश पाल घाइते भएका छन् । उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुँदैछ । थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । धनगढी टुडे परिवार कैलाशको मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।