काठमाडौं, २७ मङ्सिर । नेपाल प्रिमियर लिगअन्तर्गतको खेलमा विराटनगर किङ्सलाई पोखरा एभेन्जर्सले सुपर ओभरमा पराजित गरेको छ । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् ।
उनले सुपर ओभर बलिङमा आएका विराटनगर किङ्सका सन्दीप लामिछानेलाई चुटे । उनले सन्दीपलाई पहिलो र दोस्रो बलमा छक्का हाने। त्यसपछि तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौँ र छैटौँमा १र१ रनसहित जम्मा १८ रन बनाउन सफल भए । सुपरओभरमा १८ रनको लक्ष्य विराटनगर किङ्सले पूरा गर्न सकेन ।
विराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपर ओभरको तीन बलमा तीन रन मात्रै हाने । चौथो बल डट रहँदा पाँचौँ बलमा १ रन आयो । छैटौँ बल वाइड हुँदा विराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रन मात्रै ल्याएपछि पोखराले सुपरओभरमा विराटनगरलाई हराउन सफल भयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइ म्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।