सुदूरपश्चिमको लगातार तेस्रो जित

Avatar
धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ८ मङ्सिर । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । योसँगै कर्णाली प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा सस्तैमा समेटिने टिमसमेत बन्यो ।

कर्णालीका कुनै पनि ब्याटरले व्यक्तिगत स्कोरमा ३० रन पार गर्न सकेनन् । पवन सर्राफले सर्वाधिक २७ रन बनाए । यसअघि लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका मार्क वाट पनि आज १० बलमा दुई छक्कासहित १७ रनमात्र बनाएर पभेलियन फर्किए ।

छैटौँ नम्बरमा ब्याटिङका निम्ति आएका कप्तान सोमपाल कामीले १४ रन थपे । गुल्सन झा र अर्जुन घर्तिले पनि १३ रनमात्र जोडे । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

एनपीएलको आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन बनाएका प्रियांक पन्चाल शून्यमै आउट भए । युवराज खत्री पनि डक भए ।

कर्णालीलाई सस्तैमा समेट्न कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ६ भन्दा तलको इकोनोमीसहित २३ रनमात्र खर्चिए । हर्मित सिंहले दुई विकेट लिए । चार ओभरमा हर्मितले १९ रनमात्र खर्चिँदा एक मेडन फ्याके । अभिनाश बोहराले दुई विकेट लिँदा स्कट कुग्गेलिन र हेमन्त धामीले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रले ७३–५ को कठिन स्थितीबाट हर्मित सिंहसँग छैटौँ विकेटका निम्ति ३८ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए ।

हर्मितले १६ बलमा एक चौका र एक छक्कासहित १९ रन थपे । आरिफ सेखले २५ बल खेल्दा तीन चौकासहित २७ रन जोडे । क्रिस लिनले १८ र ओपनर विनोद भण्डारीले ११ रन बनाए । सुदूरका ओपनर जस ब्रोन भने ‘रोयल डक’ भए । उनलाई खेलको पहिलो बलमै कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेको थिए ।

कर्णालीका नरेन साउद हिट विकेट भए । सोमपालले गरेको १८ं.३ ओभरमा उनले खुट्टाले विकेटमा लागेको थियो । हेमन्त डक भए । स्कट कुग्गेलिन १० रन बनाए ।

कर्णालीका कप्तान सोमपालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले एक मेडन फ्याक्दै ३२ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा अपराजित सुदूरपश्चिमले यसअघिका दुई खेलमा काठमाण्डू र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो । यता, कर्णाली भने पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णालीले लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । प्रतियोगितामा मंगलबार काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल खेलकुद

प्रतिक्रिया

FaceBook Comment Plugins