धनगढी उपमहानगरले गर्यो, हसुलिया-अत्तरिया नगर बस सेवा सुरु

धनगढी टुडे समाचार डेस्क

धनगढी, ३० भदौ । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरियासम्म नगर बस सेवा सुरू गरेको छ । आज (आइतबार) धनगढी-१९ मा रहेको फूलबारी बसपार्कमा एक कार्यक्रम गरी नगर बस सेवाको उद्घाटन गरिएको हो ।

advertisement

६ वटा बसबाट सेवा सुरू गरिएको छ भने बस चलाउने ठेक्का धनगढीको के एण्ड के कन्स्ट्रक्सनले पाएको छ । कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए । उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर् बसमा यात्रा गर्न पाइने बताए । आउँदो असोज १ गतेदेखि सुरू हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ । नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।

हरेक दिन हसुलियाबाट बिहान ६ बजे बस छुट्ने छ । त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्नेछन् । तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइनेछ । नगर बसको संचालनले फूलबारी क्षेत्रको धनगढीसँग कनेक्टिभिटी बढेको वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए ।

advertisement

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षकहरुले भने निःशुल्क यात्रा गर्न पाउने जनाइएको छ ।

कार्यक्रममा नगर प्रमुख गोपाल हमालले “फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको” बताए ।