शरीरमा गोलिको छर्रा, क्यान्सर लाग्दा काेहि छैन सहरा

सुमन श्रेष्ठ

बैतडी, भदौ २१ गते । गणतन्त्रका लागि युद्धमा होमिएका बैतडीका दीपक चन्द अहिलेसम्म शरीरमा गोलिको छर्रा बोकेर हिँडीरहनु भएको छ । छर्राका कारण कम्मर भन्दा मुनि क्यान्सर भएको छ । पाखुरामा अहिले पनि गोलीको छर्रा छन् । पञ्चेश्वर गाउँपालिका–१, (हालः पञ्चेश्वर–३) कुलाउका दीपक चन्द २०६२ भदौमा कालिकोटको पिली भिडन्तमा परि घाइते हुँदा अहिले क्यान्सर पीडत हुनुभएको हो ।
क्यान्सरको उपचारमा घर खेत बेचिएपछि दीपक सुकुम्बासी बन्नुभएको छ । औषधी उपचार खर्च जुटाउन उहाँ छिमेकीले दिएको सानो जमिनको टुक्रामा टिनको छाप्रो बनाएर कुखुरा, बाख्रा र कालिज पालनमा लाग्नु भएको छ । घाइतेपछि पनि उहाँ माओवादी लडाकुको सातौं डिभिजनमा सेना समायोजन र प्रमाणिकरणका बेला युएनका प्रतिनिधि र लडाकुबीच दोभाषेको रुपमा काम गर्नु भएको थियो । चन्दले अंग्रेजी मुल विषयमा स्नातक तहसम्मको अध्ययन गर्नु भएको छ ।

advertisement

राज्य व्यवस्था फेर्न भनिएको लडाइँमा होमिनु भएका दीपक अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहनु भएको छ । प्रत्येक तीन महिनामा क्यान्सर बिरुद्धको किमो लगाएर उहाँको जीवन बाँचिरहेको छ । एउटा किमोको एक लाख १० हजार खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । तर,आसा गरे अनुसार पार्टीका नेता र राज्यका कुनै पनि निकायबाट सहयोग नभएको उहाँले बताउनुभयो ।
“सहयोग त कता हो कता सिंहदरवारबाट मेरो फाईल नै हरायो,” चन्दले भन्नुभयो,“ हरेस खाने कुरा भएन । घर खेत बिक्री गरेर चितवन र दिल्लीमा उपचार गराए । उपचार गराउने क्रममा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ४० हजार रुपियाँ सहयोग गर्नुभयो । त्यो बाहेक गाउँपालिकाबाट अन्य कुनै सहयोग मिलेको छैन ।”

क्यान्सर रोग फैलिन नदिन चन्दको प्रत्येक तीन महिनामा किमोथेरापी हुने गरेको छ । खर्चको जोहो गर्न कुखुरा, कालिज, बाख्रा र बङ्गुर पालन गरिरहेको उहाँले बताउनुभयो । कृषि उद्यम गर्दा पनि स्थानीय तहको कृषि कार्यक्रमबाट कुनै सहयोग नमिलेको उहाँले पीडा सुनाउनुभयो ।
“ म कुखुरा पालनमा लागेको छु । छोराछोरी पढाउन श्रीमति मञ्जु गाउँलेको घरमा गएर ज्यालामजदुरी गर्नुहुन्छ,” चन्दले भन्नुभयो,“ मञ्जु पनि पूर्व लडाकु र पाल्पा युद्धकी घाइते हुन् । दुई छोरा छोरी छन् । छोरी कक्षा ९ मा र छोरा ७ कक्षामा पढ्नछन् । क्यान्सरको उपचार र दुई जना छोराछोरी पाढाउन कृषि उद्यम र ज्यालामजदुरी गर्नु परेको छ ।”

advertisement

माओवादी भेट्दा भक्कानिए दीपक

माओवादीले सञ्चालन गरेको रुपान्तरणको अभियानमका क्रममा पञ्चेश्वर गाउँपालिका पुग्नु भएका पूर्व सहकर्मी माओवादी नेता भेट्दा दीपक चन्द भक्कानिनु भएको छ ।
शरीरभरि गोलीका छर्रा र क्यान्सर रोगसँग जुधिरहनु भएका दीपकले पार्टीमा लागेर आफू घाईते भएकोमा कुनै पछुतो नभए बताउनुभयो । बरु माओवादी नेताको व्यवहारले आफू खिन्न रहेको दीपकले बताउनुभयो । अभियानको क्रममा पुर्व जनमुक्ति सेनाका दीपक चन्द (प्रलय) सँग सोमबार पञ्चेश्वरमा भेट भएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य बिक्रम कुँवर प्रतिकले बताउनुभयो ।
गणतन्त्र ल्याउन जीवनको उर्जाशी समय खर्च गर्नुभएका दीपक चन्दको उपचारका लागि पार्टीमा छलफल हुने उहाँले बताउनुभयो ।
क्यान्सर जस्तो प्राणघातह रोगसँग लडिरहनु भएका दीपक चन्दको हिम्मत र अठोटको सम्मान गर्दै उपचारका लागि पहल गर्ने नेता कुँवरले बताउनुभयो ।