रग्बीका सबै खेलमा नेपाल पराजित

सालिग्राम उपाध्याय

हान्झाउ । चीनमा जारी १९औं एसियाली खेलकुदमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।

advertisement

मंगलबार भएको ९-१३ औं स्थान निर्धारणको लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हान्झाउ नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको खेलमा अन्तिम नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८-० अन्तरले पराजित भयो ।प्रतियोगितामा नेपालले बेहोरेको यो सबैभन्दा ठूलो हारसमेत हो । यससहित नेपालले खेलेको सबै ६ खेल हारेको हो ।

६ खेल खेल्दा नेपालले समूह चरणमा यूएईविरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५-७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५-० र अफगानिस्तानसँग ४१-० ले पराजित भयो ।

advertisement

समूह चरणमा तीनवटै खेलमा पराजित समूह चरणबाट बाहिरिएपछि ९ देखि १३औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले पराजित भयो । एसियाडमा चौथो दिनको खेल चलिरहँदा नेपालको प्रदर्शन निराशाजनक रहेको छ । अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्ने बाहेक नेपालको कुनै उपलब्धि भएको छैन ।

नेपालले पदकको आशा गरेको तेक्वान्दो र बक्सिङमा पनि त्यस अनुसारको प्रदर्शन देखिएको छैन ।

रग्बी सहित केही खेललले नेपालबाट पहिलो पटक एसियन गेम्समा सहभागिता जनाएका छन् ।

नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, रग्बी र जुडोमा चुनौती समाप्त भइसकेको छ ।