असोज, १३ काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को अध्यक्षमा सुवास न्यौपाने पदबहाली हुनुभएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उहाँलाई अध्यक्षमा पदबाहली गरेको हो।
सातौ महाधिवेशनमा आलोपालोका लागि भएको सहमति बमोजिम यसअघि रहेका केन्द्रीय अध्यक्ष पाण्डव हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले तत्कालीन सह-अध्यक्ष सुवास न्यौपानेलाई अध्यक्षमा पदबाहली गरिएको बताइएको छ। यद्यपि पदबाहाली कार्यक्रममा निवर्तमान अध्यक्ष हमाल भने अनुउपस्थिति रहेका थिए।पदबाहली कार्यक्रममा तत्कालीन सह-अध्यक्ष सुवास न्यौपाने सभापति रहनुभयो भने संस्थापक वसन्त बहादुर श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो। उक्त कार्यक्रममा पुर्व पदाधिकारी, बर्तमान केन्द्रीय समितिका सदस्यहरु, देशैभरीका जिल्ला अध्यक्ष, महानगर, नगर, र पालिकाका अध्यक्ष साथै शैक्षिक संस्थाका संचालक, प्रिन्सिपल, डाइरेक्टरहरुको उपस्थिती रहेको थियो।पदबाहली कार्यक्रममा जय बहादुर श्रेष्ठले देशै भरीबाट आएका एनप्याब्सनका प्रतिनिधिहरुलाई मन्तव्य मार्फत स्वागत गरेका थिए।
त्यसैगरी देशै भरिका जिल्ला अध्यक्षहरुको तर्फबाट काठमाडौ जिल्ला अध्यक्ष अमृत खड्काले सातौ राष्ट्रिय महाधिवेशनमा संगठनलाई एकताको नाममा निरास बनाउनुभएको भन्दै संगठनले जित्छ भने ठिक छ भनेर फर्किएका हामी आज आफैले नैतिकता समेत नदेखाइ पद हस्तान्तरण नगर्नु अनैतिक कार्य रहेको बताउनुभयो। संगठनलाई एकताबद्ध बनाउने वा संगठनलाई झोलामा राखेर संगठनिक नीति नियम र बिधानलाई कुनामा थन्क्याएर गुटबन्दी गर्ने यसको जवाफ नेतृत्वहरुले दिनुपर्ने धारणा राख्नुभयो।
पदबाहली कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुङ्ग्गानाले शुभकामना व्यक्त गर्नुभयो । उहाँले संगठनहरुको हरेक क्रियाकलाप नजिकबाट नियालेको र राष्ट्रिय महाधिवेशनमा दुइजना अध्यक्षका उमेदवारहरुलाई पालैपालो आधा/आधा समय नेतृत्व गर्ने भनेको संगठनिक कानुन नै हो भन्दै केही अडचन भएपनि यसलाई सहजरूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।