असोज १८, काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।
प्रतियोगिताको उद्घाटन खेल दिवा—रात्रि रूपमा खेलाइने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ : १५ बजेबाट नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । यो विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक हो । यो रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।
यस पटक विश्वकपमा १० वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ । इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड एकदिवसीय विश्वकपको १३ वटै संस्करणमा सहभागिता जनाउने राष्ट्र हुन् ।
प्रतियोगिताको लिग चरणमा सहभागी १० वटै राष्ट्रले एक अर्कासँग एक \एक खेल खेल्नेछन् । लिग चरणको समाप्तिपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलमा विजयी हुने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ तारिखमा अहमादाबादमा खेलाइने छ । प्रतियोगिता अवधिभरमा कुल ४८ वटा खेल खेलाइने छ । त्यसमध्ये लिग चरणमा ४५ वटा खेल खेलाइने छ ।
यस पटक भारत, अस्ट्रेलिया, इङ्गल्यान्ड र न्युजिल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । प्रतियोगिताको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।