च्याम्पियन्स ट्रफि खेल्ने ८ टिमको लाग्यो टुंगो

धनगढी टुडे समाचार डेस्क

एकदिवसीय विश्वकपका लिग खेलहरु सकिएका छन् । योसँगै सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीका लागि टोली पनि तय भएको छ । पाकिस्तानमा आयोजना हुने यस च्याम्पियन्स ट्रफीबाट विश्वकपमा सहभागी श्रीलंका र नेदरल्याण्ड्स बाहिरिएका छन् । वेस्ट इन्डिज र जिम्बाब्वेको टेस्ट खेल्ने टिम भए पनि पाकिस्तानमा देखिने छैनन् । कारण उनीहरु यो विश्वकप नै खेल्न पाएनन् ।

advertisement

पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा ८ टोली सहभागी हुनेछन् । यी टोलीको टुंगो सन् २०२३ को विश्वकपको अंक तालिकाको आधारमा भएको हो। यस्तो अवस्थामा विश्वकप लिग सकिएपछि अंक तालिकामा ९ औं स्थानमा रहेको श्रीलंकाको टोली र १० औं स्थानमा रहेको नेदरल्यान्ड्स टोलीले खेल्न पाउने छैनन् ।

श्रीलंकाले आफ्ना ९ लिगमा २ खेल मात्र जित्न सकेको छ भने ७ खेलमा हार बेहोरेको छ । सन् १९९६ मा विश्वकप जितेको श्रीलंकाको टोलीले २०२३ को विश्वकपका लागि छनोट खेल पनि खेलेको थियो । श्रीलंकाले विश्वकपमा पनि अफगानिस्तानसँग हार बेहोरेको थियो ।

advertisement

नेदरल्याण्ड्सले पनि २ खेल जितेर ४ अंक जोडेको छ । बंगलादेश र श्रीलंकाको पनि समान अंक भए पनि कमजोर रन रेटका कारण दशौं स्थानमा छ । बंगलादेश आठौं र श्रीलंका नवौं स्थानमा छ । नेदरल्यान्ड्स पनि क्वालिफायर मार्फत २०२३ को एकदिवसीय विश्वकपका लागि छनोट भएको थियो।

योग्यता नियमका कारण टेस्ट खेल्ने राष्ट्र वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्याण्ड विश्वकप सुरु हुनुअघि नै बाहिरिएका थिए । तीनै टोली एकदिवसीय विश्वकपमा छनोट हुन नसकेकाले च्याम्पियन्स ट्रफीमा छनोट हुने मौका समेत पाएनन् ।

सन् २०२५ को च्याम्पियन्स ट्रफी पाकिस्तानमा र २०२९ को च्याम्पियन्स ट्रफी भारतमा खेलाइनेछ । पछिल्ला दुई प्रतियोगिता जस्तै दुवैमा ८ टिम सहभागी हुनेछन् । उनीहरुलाई ४/४ टोलीको २ समूहमा विभाजन गरिनेछ । समूह चरणका १२ खेलपछि प्रतियोगितामा २ सेमिफाइनल र १ फाइनल गरी जम्मा १५ खेल हुनेछन् ।

डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।