शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धा अन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ । विज्ञापन भोलि आइतबार विहान १० बजे आयोगले आफ्नो वेबसाइटमा राख्नेछ ।
आयोगका अनुसार नेपाली, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिने भएको छ ।
आयोग सूत्रले दिएको जानकारीअनुसार ४३५ पदका लागि विज्ञापन आह्वान हुनेछ । सबैभन्दा बढी सामाजिक शिक्षामा आवेदन माग गरिने भएको छ ।
वेबसाइटमा विज्ञापन डाउनलोड गरिएलगत्तै आवेदन भर्न पाइने सुविधा उपलब्ध गराइनेछ । माघ ८ गतेसम्म आवेदनको म्याद दिइने र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहने जनाइएको छ ।
आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।