प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ र कोशी प्रदेशबिच भिडन्त हुँदै छ । फाइनल खेल नेपाली समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो । दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो ।
त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो ।
लिग चरणको खेलमा एपीएफले आफूले खेलेको सातवटै खेलमा जित हात पारेको थियो । लिग चरणमा १४ अंकसहित एपीएफ क्लब पहिलो भएको थियो । कोशी प्रदेश भने लिग चरणको खेलमा दोस्रो भएको थियो । लिग चरणमा आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएको थियो ।
त्यसैले पनि बुधबार हुने एपीएफ र कोशी प्रदेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुवै टोलीका कप्तान निकै अनुभवी छन् । दुवै टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ । एपीएफ क्लब सीता रानामगर र कोशी प्रदेश रुविना क्षेत्रीको कप्तानमा मैदानमा ओर्लने छ ।