कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताको उपाधि कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयले हात पारेको छ । कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उपाधि कान्ति राज्य लक्ष्मी माविले जितेको हो ।
नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिको आयोजनामा पुस २५ गते सुरु भएको प्रतियोगितामा सहभागी २२ विद्यालयलाई पछि पार्दै कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । कान्ति राज्य लक्ष्मी मावि १९ स्वर्ण, ९ रजत र ५ कांस्य गरी जम्मा ३३ पदकका साथ प्रथम भएको हो ।
त्यस्तै घोडाघोडी सामुदायिक विद्यालय १० स्वर्ण, ६ रजत र ५ कांस्य गरी जम्मा २१ पदकका साथ दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी जम्मा ११ पदकका राष्ट्रिय मावि तारानगर तृतीय भएको छ । छनोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एक औपचारिक कार्यक्रमका बिच पुरस्कार तथा शिल्ड प्रदान गर्नुभएको थियो ।