उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगर प्रहरीले थाल्यो बजार अनुगमन

धनगढी टुडे समाचार डेस्क

धनगढी उपमहानगरपालिका भित्रका खाद्य पदार्थ विक्री वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउने उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगर प्रहरीले बजार अनुगमन शुरु गरेको छ ।

advertisement

नगर प्रहरीले आज देखि सो निर्णय कार्यान्वयन गर्न बजार अनुगमन थालेको हो । अनुगमनका क्रममा नियम विपरित खाद्य पदार्थ विक्री गर्ने पसल,होटेल तथा ठेलामा सुर्ती जन्य पदार्थ भेटिएमा नियन्त्रणमा लिई उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगर प्रहरी एक्सनमा उत्रिएको हो ।

उपमहानगरपालिकाले गत पुष १७ गते एक सुचना जारी गर्दै माघ १ गतेदेखि धनगढी उपमहानगरपालिका भित्रका खाद्य पदार्थ विक्रि वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीमा रोक लगाउने जनाएको थियो । नगर प्रहरीले पहिलो चरणमा खाद्य पदार्थ विक्री गर्ने किराना पसल,होटेल तथा होलसेल पसलहरुमा अनुगमन गरि भेटिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई सम्झाइ बुझाई गर्ने गरि सन्देश मुलक अनुगमन गरेको जनाएको छ ।

आज धनगढीको ६ लेन सडक खण्डको मिलन चोकदेखि सहिद गेटसम्म गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । किराना पसल,होलसेल पसल तथा होटेलबाट चुरोट, गुट्खा,सुर्ती लगायतका प्रतिबन्धित पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । पहिलो पटकको अनुगमनमा सामान नियन्त्रणमा लिने र व्यापारीलाई सम्झाउने तर अर्को पटकको अनुगमनमा भेटिएमा नियम अनुसार कारबाही गरिने जनाइएको छ ।

यस अघि उपमहानगरपालिकाले स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनु पर्ने र सोही ऐनको दफा ३ को (२) मा खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरण गर्न बन्देज लगाइने उल्लेख भए बमोजिम माघ १ गते देखि चुरोट, बिँडी, सुर्ती, खैनी, तमाखु जस्ता अन्य सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

advertisement