प्रधानमन्त्री कप क्रीकेट: सुदुर पस्चिम शिर्ष स्थानमा

धनगढी टुडे समाचार डेस्क

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

advertisement

पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ५० ओभरमा अलआउट हुँदै २०१ रन बनायो। किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५ चौका प्रहार गरे । त्यस्तै टेक रावतले १५ रन, कप्तान राजु रिजालले १९, नारायण जोशीले ४६ र नरेन साउदले १३ रन बनाए ।

गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३/३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २/२ विकेट लिए ।

advertisement

सुदूरपश्चिम प्रदेशले दिएको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३० ओभर २ बलमा ९३ रनमा अल आउट भयो। सुरुआती ब्याटिङमा आएका खेलाडीले गण्डकीको इनिङ्स सम्हाल्न सकेनन्। आश्विनी राना र कमल परियारको ब्याटिङ प्रदर्शन पनि सन्तोषजनक रहेन। रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए। ४९ बलको सामना गरेका कमल परियारले २२ रन बनाएर आउट भए। अन्य कुनैपनि ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ विकेट लिए । उनले ८.२ ओभरमा १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका थिए । यस्तै गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १/१ विकेट लिए ।

यसअघि सुदुरपश्चिमले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।