त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।
जितसँगै आर्मीले ८ खेलबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम ७ खेलबाट ८ अङ्कसहित छैटौँ स्थानामा रहेकोछ । ७ खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्षस्थानमा रहेकोछ ।
जितका लागि आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ६५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाए ।
शेर मल्लले २४, नरेन भट्टले १८ र प्रकाश पाण्डेले ११ रनको योगदान दिए । बलिङमा आर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए भने सोमपाल कामीले २ तथा साहब आलम, बसिर अहमद र कुशल मल्लले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । त्यस्तै सन्दीप रजालीले ३७, बसिर अहमदले ३६, सोमपाल कामीले ३१, सोन्तोष कार्कीले ३० र साहब आलमले २१ रनको योगदान दिए ।
बलिङमा सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । नरेन साउदले ३ तथा विकाश आग्रीले १ विकेट लिएका थिए ।