यू-१९ विश्वकप क्रीकेट अन्तर्गत आज भएको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाललाई भारतले २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रनको विशाल योगफल खडा गरेको हो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान सहरानले पनि १०० रनको शतकीय इनिङ खेले ।
चौथो विकेटका लागि कप्तान उदय साहारन र सचिन दास मिलेर २ सय १५ रनको साझेदारी गरेका थिए । सचिन दास ४८औं ओभरमा गुलशनको बलमा क्याच आउट भएपछि सो साझेदारी तोडिएको थियो । उदय भने अन्तिम ओभरमा गुलशनकै बलमा आउट भएका थिए ।
भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए । यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।
सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलागि १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए । मुशिर खान ९ रनमा र अराभेली अवानिश शून्यमा अविजित रहे ।
नेपालका लागि गुलशन झाले १० ओभर बलिङ गर्दै ३ विकेट लिए भने आकाश चन्दले ९ ओभर बलिङ गर्दै १ विकेट लिए ।