एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा सबै विकेट गुमायो ।
नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेलले ४ विकेट लिएका थिए ।
क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन भने सकेनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गमाउदै २२४ रन बनाएको थियो ।