नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतिमै नेतृत्व चयन गरिने बताइरहेका छन् । सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ । एमालेले अधिवेशन सुरु हुनुअगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई इच्छापत्र पेस गर्न भनेको थियो ।
पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।
अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहित ३ जनाले इच्छापत्र पेस गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ २ पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन् ।
एमाले कैलालीले पदाधिकारीमा आकांक्षीहरुबीच सहमति खोज्न र सहमति नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि उद्घाटन पूर्व नै इच्छापत्र माग गरेको बताइरहेको छ ।
एमालेले ३ गते आकांक्षीबाट इच्छापत्र मागेर ४ र ५ गते उनीहरुबीच सहमति खोज्ने जनाएको छ तर अहिलेसम्म आकांक्षीकाबीचमा सहमती भइसकेको अवस्था छैन ।
अध्यक्षका लागि इच्छापत्र दर्ता गरेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र यज्ञराज ढुंगानाबीच सहमति हुन सकेको छैन भने अन्य पदाधिकारीमा पनि उस्तै छ ।
पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले पदाधिकारीमा इच्छापत्र पेस गरेका नेताहरुबीच सहमतिको प्रयास भइरहेको बताए तर अहिलेसम्म कुनै पदमा पनि सहमति नभएको ठगुन्ना बताउँछन् ।
ठगुन्नाले आइतबार अधिवेशन उद्घाटनपछि समेत आकांक्षीबीच सहमतिका लागि प्रयास गरिने तर सहमति नहुने अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने समेत बताएका छन् ।