त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

धनगढी टुडे समाचार डेस्क

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

advertisement

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

advertisement

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय बराललाई जान्छ । निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पुर्‍याएका थिए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराएका हुन् ।