कञ्चनपुरमा युवक मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ।
महाकाली सिँचाइको मूल नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट सम्पर्कविहिन भएका थिए। उनी फेला नपरेपछि परिवारले खोजीकार्यका लागि प्रहरीमा उजुरी दिएका थिए।
मंगलबार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको प्रहरीले बताएको छ। पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन् । नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन्।
पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेका छन्। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले विष्टको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।