महाकाली बहुमुखी क्याम्पसको बत्तिसौँ वार्षिकोत्सव सम्पन्न

Avatar
धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसले बत्तीसौँ वार्षिकोत्सव मनाएको छ । आज मंगलबार क्याम्पसको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रका विद्यार्थीहरूका लागि महाकाली बहुमुखी क्याम्पस कोशे ढुङ्गा साबित भएको बताउनु भयो । क्याम्पसको विकासका लागि आफू र आफ्नो मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता उहाँले प्रतिबद्धता जनाउनुभयो । विकासका कार्यमा सबैले हातेमालो गर्दै लैजानु पर्नेमा मन्त्री देउवाले जोड दिँदै भ्रष्टाचार विरुद्ध पनि एक भएर लाग्न सबैमा आग्रह गर्नुभयो ।

सो समारोहमा बोल्दै प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले क्याम्पसको विकासको लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो । महेन्द्रनगर र धनगढीको बिच बेलौरीमा अवस्थित यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी गरिब, जेहेन्दार र पहुँच बाहिर रहेकाले पनि प्रदेश सरकारले यस क्याम्पसको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय प्राविधिक विद्यालय यस क्षेत्रमा राख्नुपर्ने माग गर्दै उहाँले यहाँको विकास र प्राविधिक विद्यार्थी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले स्नातक तहबाट स्तरोन्नति गर्दै स्नातकोत्तर तहसम्म सञ्चालन गर्दा ठूलो सङ्घर्ष गर्नुपरेको अनुभव सुनाउनु भयो । क्याम्पसलाई सूचना प्रविधि मैत्री बनाउन र गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सबैको सहयोग महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । आगामी दिनमा क्याम्पस बस र प्राविधिक विषयहरूमा अध्यापन गराउने तर्फ समिति केन्द्रित भइरहेको उहाँले सुनाउनु भयो । क्याम्पस प्रमुख धर्मराज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उत्कृष्ट नतिजा ल्याउने तथा विभिन्न खेलकुद विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ । वार्षिकोत्सव समारोहमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, पूर्व क्याम्पस प्रमुखहरू प्रेम सिंह बोहरा र हर्क सिंह कुँवर, तत्कालीन महाकाली उमाविका पूर्व प्राचार्य केशवराज जोशी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, प्राध्यापक लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण उपप्राध्यापकद्वय सिपी पोखरेल र दीपेन्द्र प्रसाद उपाध्यायले गर्नुभएको थियो । समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया

FaceBook Comment Plugins