सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस-माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।
सुदूरपश्चिममा नाउपा र नेकपा (एस)को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्ने हुँदा मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले (मंगलबार) आज पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । प्रदेशको विकासका लागि पद मात्रै ठुलो नभएको बताउदै उनले गठबन्धन जोगाउन कांग्रेस मुख्यमन्त्री पद छाड्न समेत तयार रहेको बताए।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा र स्वतन्त्रबाट एक/एकजना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ ।