धनगढीमा जय नेपाल कप क्रिकेट प्रतियोगिता सुरु हुने

धनगढी टुडे समाचार डेस्क

नेपाल विद्यार्थी संघ कैलालीको आयोजनामा क्याम्पस स्तरीय “जय नेपाल कप क्रिकेट प्रतियोगिता-२०८०” फागुन २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता शिवपुरी युवा क्लबको प्राविधिक सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदानमा संचालन हुन लागेको हो ।

advertisement

प्रतियोगिताको विजेतालाई नगद रु ३ लाख र उप विजेतालाई नगद रु १ लाख प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही रु. १५/१५ हजार र उदयमान खेलाडीलाई रु.१० हजार र “म्यान अफ द म्याच”लाई रु. २ हजार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

advertisement

टि-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ वटा टिमहरू ऐश्वर्य बहुमुखी क्याम्पस, टिकापुर बहुमुखी क्याम्पस, महाकाली बहुमुखी क्याम्पस, त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन फागुन २८ गते विहान ९ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री कमल बहादुर शाहले गर्ने बताइएको छ । उद्घाटन खेल ऐश्वर्य बहुमुखी क्याम्पस र टिकापुर बहुमुखी क्याम्पस बिच हुनेछ भने प्रतियोगिताको फाइनल खेल चैत्र २ गते हुनेछ ।

प्रतियोगिताभर खेलाडीहरुको हौसला बढाउन धनगढीको सहिद गेट नजिक रहेको डुब्का थकाली रेष्टुरेण्टले आर्कषक अफर घोषणा गरेको छ । प्रतियोगितामा अर्धशतक प्रहार गर्ने खेलाडीलाई परिवार सहित डिनर,छक्का क्याच गर्ने दर्शकलाई प्रत्येक क्याचमा एक पिलेट मम,५ विकेट भन्दा बढि लिने खेलाडी,ह्याट्रिक गर्ने खेलाडीलाई पनि डिनर र विजेता टिमलाई पनि डिनर गराउने डुब्का थकालीका संचालकले जानकारी दिए।