डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।
बजेट संशोधन गर्नेसहित १३ वटा एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो । बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।
नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।