आज प्रधानमन्त्री पुष्पकमल दाहाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा प्रधानमन्त्री दहालले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
छलफलमा सहभागी नाउपाका संस्थापक नेता रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।
नयाँ समीकरणमा केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको नेता डंगौराले बताए । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको पनि डंगौराले बताए ।