चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा साबिक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
२ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै, ऋद्धिमन शाह र डेभिड मिलरले समान २१/२१ रन बनाए ।
चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले २/२ विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक पारी खेले ।
ओपनरद्वय रुतुराज गायकवाड र रचिन रवीन्द्रले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवै खेलाडीले समान ४६/४६ रन बनाए ।
गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १/१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।