काठमाडौं, ३० चैत्र । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ३२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दिपेन्द्र सिंह ऐरीले २०, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।
यसअघि मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान विरनदीप सिंहले अविजित ७२ रन बनाए । त्यस्तै सर्विन मुनियान्डीले ४१ र मोहम्मद अमिहरले १६ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए ।