काठमाडौं, ३१ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बेंगलुरुले प्लेअफ सम्भावना जीवितै राखेको हो ।
प्लेअफ सम्भावना बलियो बनाउने मौका पाएको दिल्ली भने चुक्यो । आफ्नो १३औँ खेलमा बेंगलुरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १ सय ४० रनमै अलआउट भयो ।
उसका लागि अक्षर पटेलले ५७, शाई होपले २९, ज्याकफ्रेजर म्याकगुर्कले २१ र रशिख सलामले १० रन बनाए । बेंगलुरुका लागि यश दयालले तीन, लकी फर्गुसनले दुई, मोहम्मद सिराज, स्वपनिल सिंह र क्यामरुन ग्रीनले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो । उसका लागि रजत पाटिदारले ५२, विल ज्याक्सले ४१, क्यामरन ग्रीनले अविजित ३२, विराट कोहलीले २७ र महिपाल लोमरोरले १३ रन बनाए ।
दिल्लीका लागि खलील अहमद र रशिख सलामले दुई/दुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक/एक विकेट लिए । यो जितपछि बेंगलुरु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले १३ खेलबाट १२ अंक जोडेको छ । बेंगलुरुसँगको हारपछि दिल्ली छैटौँ स्थानमा झरेको छ । उसले पनि १३ खेलबाट १२ अंक नै जोडेको छ ।