काठमाडौं, ७ असार । आईसीसी टी-२० विश्वकप क्रीकेटमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा अफगानिस्तान ४७ रनले पराजित भएको हो ।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे । नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए ।
भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए ।
कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । विराट कोहलीले २४ रन,ऋषभ पन्तले २० रन बनाए ।
भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे । हार्दिक पाण्डेयले ३२ रनको योगदान दिए । अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए ।
अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले समान तीन/तीन विकेट हात पारे ।